काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनमा भोट किन्न पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने जनाएका छन् ।
शनिबार चुनावी घरदैलोमा इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो–कोहीलाई कडा कारबाही गरिने जनाएका हुन् ।
उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उनले भने, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौं ।”
लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए ।