काठमाडौं । नेकपा एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उल्लेख छ ।
त्यसका लागि बलियो पार्टी निर्माण पूर्वशर्त भएको उनले बताएका छन् । ‘हाम्रो पार्टी बाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरु बलिया, प्रभावकारी वा अगुवाई गर्न सक्ने भूमिकामा छैना्’, उनले भनेका छन्, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरुलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’
बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने महासचिव शंकर पोखरेलले बताए ।
‘पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुस्पमा स्थापित गर्नका लागि जिल्ला तथा पालिका तहमा कुल मतदाताको ६ प्रतिशत प्रत्येक वडामा न्यूनमत तीन प्रतिशत पार्टी सदस्यता विस्तारको योजना बनाउनु पर्दैछ’ उनले प्रतिवेदनमा भनेका छन् ।
पोखरेलको सांगठनिक प्रतिवेदन अनुसार हाल एमालेमा २ लाख ७७ हजार ४०० संगठित सदस्य छन् । पार्टी सदस्यको संख्या भने ५ लाख ७६ हजार ६० छ ।