• मंसिर १४ २०८१, शुक्रबार

आफूलाई राष्ट्रपति र हिसिलालाई उपराष्ट्रपति बनाउन नसकेपछि बाबुराम पार्टी एकताको विपक्षमा लाग्नु भयो : यादव

बैशाख ८ २०८१, शनिबार

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा.बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिबार सो पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराई राष्ट्रपतिको पद प्राप्त नगरेपछि नेकपा (माओवादी केन्द्र)सँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरे । भट्टराईले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवको भनाइ छ ।

अन्तिममा भट्टराईले पत्नी यमीका निम्ति गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य पद मागेको र सो पनि नपाएपछि माओवादी केन्द्रसित एकता हुन नसकेको उनले बताए ।

भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिनभित्रमा पार्टी एकता भइसकेको हुने उनले जिकिर गरे । उनले भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । भट्टराईलाई आफ्नो परिवारका निम्ति समाजवाद चाहिएको उनले बताए ।

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डे समेत उनीबाट टाढा भएको भन्दै यसले आधिकारिक नेसपा आफूहरूको भएको प्रस्ट पारेको बताए ।

उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए । बाबुराम वामपन्थी विचारबाट भाग्दा केशरजंग रायमाझीजस्तै हुन पुगेको उनको टिप्पणी थियो ।