काठमाडौं । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रबार ओमानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालमाथि युएईले ६ विकेटको जित निकाल्यो ।
पराजयसँगै एसिया कप २०२५ मा पुग्न असफल भएको नेपालका कप्तान रोहितकुमार पौडेलले युएईले राम्रो बलिङ गर्दै परिस्थितिको फाइदा उठाएको बताए । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा मात्र ११९ रन जोडेको थियो । जसमा सन्दीप जोराले ५० रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भएका थिए । नेपालले दुवै ओपनरलाई पावरप्लेमा गुमाएको थियो ।
‘युएईले पावरप्लेमा धेरै राम्रो बलिङ गर्यो । उनीहरुले कन्डिसनको फाइदा उठाउन सफल भए । त्यसैले श्रेय युएईका बलरलाई जान्छ । त्यसमा पनि विशेषगरी तीव्र गतिका बलरलाई श्रेय दिनु पर्छ,’ रोहितले खेलपछिको प्रिजेन्टेसनमा भने, ‘हामीले पनि गतिलो साझेदारी गर्न सकेनौं तर पनि सन्दीप जोराले त्यो परिस्थितिमा ब्याटिङ गर्न सफल भए । समग्रमा भन्नु पर्दा युएईले राम्रो बलिङ गर्यो । हाम्रो समस्या ब्याटिङमा देखियो।’
उनले खेलमा टसको जित र हार भन्दा पनि परिस्थितिको फाइदा उठाउने कुरा महत्वपूर्ण रहेको बताए ।
‘हामीले घरेलु मैदानमा युएईविरुद्ध राम्रो खेलेका थियौं । घरेलु मैदानमा हाम्रो लक्ष्य नै जित हुन्छ तर आज भने युएईले राम्रो खेल्यो । खेलमा टस जित हार भन्दा पनि युएईले परिस्थितिको सदुपयोग गर्न सफल भयो ।’