• मंसिर ११ २०८१, मंगलवार

टी–२० वरीयतामा दीपेन्द्रको फड्को

बैशाख ५ २०८१, बुधबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० वरीयतामा छलाङ मारेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका छन् । दीपेन्द्र यो वरीयतामा १४ स्थान माथि उक्लिएका हुन् ।

यस्तै दीपेन्द्रले टी–२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन् । उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न् ।

ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए । कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए ।

नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी–२० मा तेस्रो खेलाडी बने । टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

युवराजले इंग्ल्यान्डका स्टुअर्ट ब्रोडविरुद्ध २००७ को टी–२० विश्वकपको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । पोलार्डले सन् २०२१ मा श्रीलंकाका अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए ।

एकदिवसीय खेलमा दक्षिण अफ्रिकाका हर्शल गिब्सले नेदरल्याण्ड्सविरुद्ध २००७ को एकदिवसीय विश्वकपमा एकै ओभरमा ६ छक्का हिर्काएका थिए। अमेरिकाका जसकरण मल्होत्राले २०२१ मा पपुवा न्युगिनीविरुद्धको एकदिवसीय खेलमा यस्तै उपलब्धि हासिल गरेका थिए ।

बुधबार आइसिसीले जारी गरेको पहिलो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले ३६ स्थान फड्को मारेका छन । उनी सूचीमा ७५औं स्थानमा छन ।
ब्याट्सम्यानको वरीयतामा नेपालका कप्तान रोहित पौडेल ५३औं स्थानमा छन् । भने कुशल मल्ल नौ स्थान उक्लिदै सयौं स्थानमा आइपुगेका छन् । कुशल अलराउन्डर वरियतामा पाँच स्थानमाथि उक्लिएर २७ औं स्थानमा पुगेका छन् । बलरको वरीयतामा नेपालकी खेलाडी शीर्ष सयमा छैनन ।