• बैशाख १० २०८२, बुधबार

रुसी आक्रमण सुरु भएपछि युक्रेनमा ३७ हजार मानिस वेपत्ता

बैशाख ५ २०८१, बुधबार

एजेन्सी । युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको जनाएको छ ।

रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकाले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन रहेको युक्रेनको भनाइ छ । ‘बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् । यो सङ्ख्या अझै धेरै हुन सक्छ,’ युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भने ।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्कोसमर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए ।

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ । स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो रहेको जनाइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए ।