काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने लगभग पक्का भएको छ । एसलाई मुख्यमन्त्री दिएर सत्ता गठबन्धनको संकट टार्न नागरिक उन्मुक्ति पार्टी नाउपासमेत सकारात्मक भएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले एसलाई मुख्यमन्त्री दिएर पनि भए सत्ता गठबन्धनको संकट टार्न सकारात्मक रहेको संकेत गरिन् । उनले भनिन्, ‘एउटा प्रदेशको विवादको विषयलाई लिएर सबैतिर संकट आउनुभन्दा समझदारीमा जानुपर्छ भन्ने मान्यता हामीले राख्छौँ ।’
उनले सुदूरपश्चिमको मुख्यमन्त्री एसलाई दिनेबारे छलफल चलिरहे पनि अन्तिम टुंगो भने लागिनसकेको बताइन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नाउपाका कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । अब एसका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन कानुनी छिद्रको खोजी भइरहेको छ ।
एसलाई मुख्यमन्त्री दिन नाउपाको रञ्जिता पक्ष सहमत नभए रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्री हुने लगभग पक्का थियो । तर, आफूले मुख्यमन्त्री पाउने भएपछि एसले लक्ष्मणकिशोरका लागि पेस गरेको दाबी फिर्ता लिने तयारी गरेको छ । एस संसदीय दलका नेता दिर्घ सोडारीले मुख्यमन्त्रीमा आफै दाबी पेस गर्ने गरी तयारी गरिरहेका छन् । एमाले, माओवादी केन्द्र, एस र नाउपाको रञ्जिता पक्ष मिलेमा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।
सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने अडान पूरा नहुने देखिएपछि एसले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउने प्रयासस्वरुप नाउपा रेशम पक्षका लक्ष्मणकिशोरलाई समर्थन गरेको थियो । तर, दाबी पेस भएको तीन दिन हुँदा पनि प्रदेश प्रमुख नाजिर मियाँले कुनै निर्णय लिएका छैनन् ।