• मंसिर १४ २०८१, शुक्रबार

राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका ठाकुरप्रसाद डाँगीको निधन

बैशाख ३ २०८१, सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका एक जनाको निधन भएको छ ।
राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले  जानकारी दिए ।
डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए । प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो ।

‘प्रहरीले हानेको अश्रुग्यास लागेपछि उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँको उपचार गरिएको थियो,’ श्रेष्ठले भने, ‘उपचारका क्रममा उहाँको सोमबार निधन भएको छ । अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोलगायतमा समस्या देखा परेको थियो, उहाँमा उच्च रक्तचाप पनि देखिएको थियो ।’

डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने उनले बताए । सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियाे । उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दीपक थापाले राप्रपाको चैत २७ को आन्दोलनमा राप्रपा र प्रहरीतर्फ गरी कूल १८ जना घाइते भएको विवरण रहेको बताए ।
‘घाइतेहरूलाई ट्रमा सेन्टर पठाइएकोमा चैत २७ र २८ गते सबै डिस्चार्ज भएको विवरण प्रहरीमा छ,’ उनले भने, ‘मृत्यु भएका डाँगीको विवरण प्रहरीको रेकर्डमा छ वा छैन हामी खोज्छौं ।’
प्रहरीले प्रहार गरेको अश्रुग्यासकै कारण मानिसको मृत्यु नहुने दाबीसमेत उनले गरेका छन् ।