• मंसिर १४ २०८१, शुक्रबार

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने सहमति

बैशाख २ २०८१, आईतवार

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने औपचारिक सहमति भएको छ ।
बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले सुदूरपश्चिको मुख्यमन्त्री नाउपालाई दिने सहमति भएको नाउपाका केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताए ।

‘सुदूरपश्चिमको मुख्यमन्त्री हामीले नै पाउने यसअघि पनि अनौपचारिक सहमति थियो । आइतबार बिहान बसेको बैठकमा औपचारिक सहमति भएको छ । आइतबार अपराह्न ३ बजे मुख्यमन्त्रीमा दाबी पेश गछौं,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालुवाटारमा भएको छलफलमा उक्त सहमति भएको हो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुदूरपश्चिम मुख्यमन्त्रीको आफूहरूले पाउनुपर्ने बताएका थिए । त्यसपछि आलोपालो अनुसार दुई वर्षपछि एकीकृत समाजवादीलाई नाउपाले मुख्यमन्त्री छाड्न सहमति भएको छ ।

नाउपाले मुख्यमन्त्री पाउने भए पनि कसले नेतृत्व गर्ने भनेर पार्टीभित्र विवाद छ । नाउपा सुदूरपश्चिमका सांसदहरू पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएका छन् ।

अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन् । संरक्षक चौधरी पक्षले भने लक्ष्मणकिशोर चौधरीलाई अघि सारेका छन् ।

चौधरीले बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ ।

सत्ता गठबन्धन घटक दलमध्ये माओवादी केन्द्रसँग सभामुखसहित ११, एमालेसँग उपसभामुखसहित १०, नाउपासँग सात, एकीकृत समाजवादीसँग चार सांसद छन् । स्वतन्त्र सांसद तारा जोशीले भने अहिलेसम्म निर्णय गरिसकेका छैनन् ।

यद्यपि गठबन्धनले समर्थन मागेको खण्डमा उनले सघाउने मनशाय भने व्यक्त गरे । ‘नाउपाले मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै छलफल गर्नुपर्ने हो । तर तीन–चार दिनदेखि उहाँहरू सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘धारा १६८ (२) अनुसार सरकार बन्ने/नबन्नेबारे पनि मैले बुझेको छैन ।’