काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले जनसरोकारको विषयमा बेवास्ता गर्दै सरकार संसदबाट भागेको निष्कर्ष निकालेको छ । आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरूले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ,’ बैठकपछि लेखकले भने ।
सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रूपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको कांग्रेसले जनाएको छ । यसतर्फ कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको प्रमुख सचेतक लेखकले बताए ।
उनले संघीय संसदमा सबै विपक्षी दलहरुले आम नागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगि भएको विषय उठाउँदै आए पनि सरकारले बेवास्ता गरेको बतए । उनले सरकारमा रहेका बहालवाला मन्त्रीसमेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको मागप्रति गम्भीर हुन सत्तापक्षकै सांसदहरुले आग्रह गरे पनि सरकारले बेवास्ता गरेको टिप्पणी गरे ।
प्रमुख सचेतक लेखकले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढंगले प्रस्तुत हुनुपर्ने, संसदीय मूल्यमान्यताका बर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको बताए । उनले प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनि सत्तापक्षबाट हुने गरेका तर्क हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरे ।