काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर बनोस भनेर त्यसको सुरूआत ठमेल र दरबारमार्गबाट गरिएको बताएका छन् । नयाँ वर्षको अवसर पारेर एक कार्यक्रम आयोजना गरी उनले ती क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा गरेका हुन् ।
‘यो ऐतिहासिक सुरूआत हो, यसले सकारात्मक सन्देश दिन्छ । काठमाडौं चलायमान सहर बनोस भनेर त्यसको सुरूआत दुई ठाउँबाट गरिएको हो । यहाँको अनुभवका आधारमा अन्य ठाउँ पनि खुला गर्नेछौं,’ कार्यक्रममा बोल्दै उनले भने । यो अभियान सफल बनाउन उनले सबैलाई आग्रह गरे । यहाँका विकृति–विसंगति अन्त्यका लागि सामूहिक प्रयासको खाँचो समेत रहेको बताए ।
‘यहाँका व्यवसायी, कर्मचारी, पर्यटन सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूति गरिन्छ । तर, सफल बनाउन हामी सबैको दायित्व छ । त्यसमा ध्यान दिऊँ,’ उनले भने । संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि सरकारले उक्त अभियान सुरू गरेको समेत उनले बताए ।
‘जब छोरी–चेली र आमाहरू निर्बाध यहाँ आउने वातावरण बनाउन सकिन्छ तब मात्र यो अभियान सफल हुन्छ,’ उनले भने । स्थानीयका जायज चासोको सम्बोधन गर्ने उनले बताए । नयाँ दल हुनुको परिचय कामबाटै दिने भन्दै उनले जतिसक्दो राम्रो काम गर्ने दाबी गरे । ‘हामी राम्रो कति गर्न सक्छौं थाहा छैन, नराम्रो चाहिँ एउटा पनि गर्ने छैनौं,’ उनले भने, ‘आमाको निन्द्रा र छोराको सपना दुबै पूरा गर्नेछौं ।’