काठमाडौँ । अपमानजनक व्यवहार गरेको भन्दै कांग्रेस महामन्त्री गगन थापा र सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली प्रमुख अतिथि रहेको एक कार्यक्रम बहिष्कार गरेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले कपन बालुवाखानीमा शनिबार आयोजना गरेको बुढानीलकण्ठ नगर अस्पताल उद्घाटन तथा नयाँवर्षको शुभकामना आदान–प्रदान कार्यक्रम थापा र पौडेलसहित कांग्रेस नगरसमिति समेतले बहिष्कार गरेको हो ।
थापा र पौडेललाई अपमानजनक ढङ्गले कार्यक्रममा सहभागीका रूपमा पत्र पठाइएकाले सो क्षेत्रमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरू र पार्टीले समेत बहिष्कार गरेको कांग्रेस बुढानीलकण्ठ नगरसमिति अध्यक्ष राजाराम बुढाथोकीले जानकारी दिए । नगरप्रमुख मिठाराम अधिकारीले पठाएको पत्रमा उनीहरूलाई सहभागी हुन भनिएको छ ।
‘ओलीलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो आपत्ति थिएन । तर हाम्रा पार्टीका महामन्त्री र सांसदलाई गरिएको अपमानजनक व्यवहारका कारण यो अवस्था आयो’ बुढाथोकीले भने, ‘जनप्रतिनिधिमूलक संस्थाले प्रोटोकलको ख्याल राख्न नसक्दा हामी बहिष्कार गर्न बाध्य भयौं ।’
प्रमुख अधिकारीले भने कांग्रेसका तर्फबाट बहिष्कार भए पनि कार्यक्रम भव्यरूपमा सम्पन्न भएको बताए ।