काठमाडौं । गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ । गृहमन्त्री रवि लामिछानेले आन्दोलनका क्रममा भएका र हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको जनाएका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।
‘मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ । बिल चाँडै पठाइने छ,’ लामिछानले फेसबुकमार्फत् भनेका छन् ।