• मंसिर १४ २०८१, शुक्रबार

माइतीघरदेखि बानेश्वरसम्मको निषेधित क्षेत्र हटाइयो

चैत्र ३० २०८०, शुक्रबार

काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ ।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ ।

‘हाललाई सुरक्षा चुनौती विश्लेषणसमेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौंको मिति २०८०र१२र३० को सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई मिति २०८१र०१र०१ देखि उक्त निषेध आदेश कायम नरहने बेहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक सूचनामार्फत् भनेका छन् ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत् नयाँ वर्षको अवसरमा तीन कामको सुरुवात गरेको बताएर पहिलो नम्बरमा निषेधाज्ञा हटाइएको विषय उल्लेख गरेका छन् ।

प्रशासनले गएको फागुन ४ गते दुई महिनासम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । जसलाई लिएर सरकारको चौतर्फी आलोचना भएको थियो ।