• मंसिर ११ २०८१, मंगलवार

एसीसी प्रिमियरमा नेपालको विजयी सुरुवात

चैत्र ३० २०८०, शुक्रबार

काठमाडौं । एसीसी प्रिमियरमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो ।  ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा पूरा गरेको हो ।

नेपालको जितमा ओपनर आसिफ सेखले ३२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४ दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले १९ र सन्दीप जोराले १२ रन बनाए ।

मलेसियाका विरन्दीप सिंहले तीन विकेट लिए । पवनदीप सिंह र मुहम्मद वसिमले एक–एक विकेट लिए । त्यसअघि टस  जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका ओपनर विरन्दीपले ५५ बलमा तीन चौका र चार छक्कासहित ६८ रन बनाए । सर्विन मुनिउन्दीले ४१ रन बनाए । यी दुईले ३५–१ को अवस्थाबाट दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, मुहम्मद अमिरले १६ रन थपे ।

नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १४ रनमात्र खर्चिए । यस्तै, अभिनाश बोहराले एक विकेट हात पारे । यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो ।

यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ ।

गत संस्करण जस्तै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।