• बैशाख १० २०८२, बुधबार

बाइडेनकी छोरीको डायरी बेच्नेलाई घरमै नजरबन्दको फैसला

चैत्र २९ २०८०, बिहीबार

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनकी छोरी एश्लीको डायरी बेचेको आरोपमा एक जनालाई अदालतले कैद सजाय सुनाएको छ ।
मंगलबार म्यानह्याटन फेडरल कोर्टकी न्यायाधीश लौरा टेलर स्वैनले फ्लोरिडाकी एमी ह्यारिसलाई डायरी चोरी गरी बेचेको आरोपमा एक महिना कैद सजाय र तीन महिना घरमै नजरबन्दमा राख्ने सजाय सुनाएको हो ।

द गार्डियनका अनुसार ह्यारिस र अर्का प्रतिवादी रोबर्ट कुरल्यान्डरले एश्लीको डायरी ‘प्रोजेक्ट भेरिटास’लाई बेचेका हुन् । डायरीबापत ह्यारिसले २० हजार अमेरिकी डलर प्राप्त गरेको समाचारमा उल्लेख छ ।

सन् २०१० मा खुलेको प्रोजेक्ट भेरिटास संस्थाले आफू समाचार संस्था भएको दाबी गर्छ । यस संस्थाले क्यामेराहरू लुकाएर स्टिंग अपरेशन गरी भिडिओहरू सार्वजनिक गर्ने गरेको छ ।

ह्यारिस र कुरल्यान्डरले सुरूमा सन् २०२० को राष्ट्रपतीय चुनाव हुँदा डोनाल्ड ट्रम्पको अभियानलाई बेच्ने प्रयास गरेका थिए तर बिक्री नभएपछि प्रोजेक्ट भेरिटासलाई बेचेको हो ।

मंगलबार सुनुवाइ भइरहँदा इजलासमा एश्ले पनि उपस्थित थिइन् । दोषी ठहरिएकी ह्यारिसले इजलासमा एश्लेसँग क्षमा मागेकी थिइन् । उनले उक्त डायरी सन् २०२० मा फ्रोरिडाको डेलरे बीचमा आफ्ना साथीको घरबाट भेटाएको बताएकी थिइन् । डायरीसँगै डिजिटल स्टोरेज कार्ड, किताब, कपडा, लगेजलगायत चोरेको आरोप छ ।

ह्यारिशलाई जुलाईसम्ममा जेलमा हाजिर हुन भनिएको छ । कुरल्यान्डरलाई पनि यो मुद्दामा अदालतले दोषी ठहर गरेको छ तर उनलाई भने सजाय पछि सुनाउनेछ । प्रोजेक्ट भेरिटासले उक्त डायरी सार्वजनिक भने नगरेको बिबिसीले जनाएको छ ।