• मंसिर १४ २०८१, शुक्रबार

वनस्पति विधेयक ल्याउन आवश्यक रहेको वन मन्त्री साहको भनाई

चैत्र २९ २०८०, बिहीबार

काठमाडाैं ।  वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताएका छन् ।
बिहीबार वनस्पति विभागको ६७औँ वार्षिकोत्सवमा मन्त्री सुडीले वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको उनले बताए ।

वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन र आम जनसमुदायसम्म पुर्याउन तत्काल वनस्पति ऐन आवश्यक रहेको र मेरो र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको छ, उनले भने ।

मन्त्री सुडीले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताए । मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन संकटमा परिरहेको उनको भनाइ छ ।

बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको सुडीको भनाइ छ । राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समयसापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे ।