• मंसिर १४ २०८१, शुक्रबार

गण्डकीमा मुख्यमन्त्री अधिकारीले टुक्र्याए मन्त्रालय, ९ पुगे मन्त्रालयको संख्या

चैत्र २९ २०८०, बिहीबार

काठमाडौं । दलबीच भागबण्डा मिलाउन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुईवटा मन्त्रालय टुक्र्याएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गरेर आन्तरिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाउने निर्णय गरेको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

योसँगै गण्डकीमा मन्त्रालय संख्या ९ पुगेको छ । यसअघि आन्तरिक मामिला र कानुनसम्बन्धी काम मुख्यमन्त्री कार्यालयले गथ्र्यो भने स्वास्थ्यको काम सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट हुन्थ्यो । यसअघि २०७९ पुस २५ मा पहिलोपटक मुख्यमन्त्री हुँदा १२ बाट ७ बनाएका थिए ।

अहिले सरकारमा सहभागी हुने दल र स्वतन्त्रलाई भागवण्डा मिलाउन उनैले मन्त्रालय बढाएका हुन् । गत २५ चैतमा एमाले दल नेता अधिकारी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले राप्रपालाई पनि सरकारमा सहभागी गराउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय संख्या बढाएका हुन् ।

अधिकारीको मुख्यमन्त्री नियुक्ति विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । बुधबार अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अधिकारी सरकारलाई आदेश गरेको छ । तर, त्यसको एकदिन अघि नै सरकारले मन्त्रालय संख्या बढाउने निर्णय गरेको हो ।