काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै सो व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको १०औँ राष्ट्रिय शिखर सम्मेलनको शुभारम्भ गर्दै उनले आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानका लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी रहेको बताए । उनले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिर्वतन, सङ्क्रामक रोगइत्यादि मुद्दालाई विशेष प्राथमिकतामा राख्न सुझाव दिए ।
राष्ट्रपति पौडेलले स्वास्थ्य क्षेत्रले विभिन्न राष्ट्रिय एवम अन्तराष्ट्रिय दस्तावेजद्वारा निर्दिष्ट लक्ष्य तथा दिशाको आधारमा अवलम्बन गरेका स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्त गर्न, नेपाल सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गर्दै अनुसन्धानका निष्कर्षलाई व्यावहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने धारणा व्यक्त गरे ।