• मंसिर १४ २०८१, शुक्रबार

संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई प्राथमिकता नदिइएकोमा सांसद साहको आपत्ति

चैत्र २८ २०८०, बुधबार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सांसद साहले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताएका हुन् ।

‘प्रधानमन्त्री बनिराख्दा सम्माननीय प्रधानमन्त्रीजीले त्यतिखेर भन्नुभएको थियो–संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकता छन्। र छिट्टै पारित हुन्छ भन्नुहुन्थ्यो। ती विधेयकहरु कहाँ छन् ?,’ उनले भने ।

सांसद साहले आफूहरू जनतामा जाँदा ती विधेयकहरूबारे जबाफसमेत नभएको बताए । ‘केही दिनपछि यो विधेयक अधिवेशनको अन्त्य हुन्छ । र हामी जनतामा जान्छौं । आफ्नो निर्वाचन क्षेत्रमा जान्छौं,’ उनले भने, ‘जनताको माझमा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के गर्यौं ? के काम गर्यौं भनेर सुनाउने ?’

उनले सरकारले ल्याएको १९ वटा विधेयक र सांसदहरुले दर्ता गराइएको सार्वजनिक महत्वको प्रस्तावले पनि महत्व नपाएको बताए । ‘विशेष प्रस्तावले पनि महत्व पाएन । विधेयकको कुरै छोडिदिउँ, सरकारले भनेको उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? हामी जान्न चाहन्छौं,’ उनले भने ।