• मंसिर १४ २०८१, शुक्रबार

सैनिकसितको सम्झौतापछि इमरान खान रिहा हुँदै

चैत्र २७ २०८०, मंगलवार

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र सेनाबीच नयाँ सम्झौता भएको खबर बाहिर आएको छ । योसँगै लामो समयदेखि पाकिस्तानी सेना र इमरान खानबीचको टक्कर अन्त्य भएर मेलमिलापको अवस्था सिर्जना हुने सम्भावना देखिएको छ ।

पाकिस्तान तहरिक–ए–इन्साफसँगको सम्झौताका अनुसार खान आगामी महिना जेलबाट बाहिर निस्किने सम्भावना रहेको सूत्रको दाबी छ । सेनासँगको सम्झौताअघि इमरानको पार्टीबाट खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिनसँग शनिबार अडियाला जेलमा इमरानको भेट भएको थियो । रिहा भए पनि उनलाई सुरुमा घरमै नजरबन्दमा राखिनेछ ।

इमरानसँग सम्झौताका लागि सेना प्रमुख आसिम मुनिरले आफ्ना तर्फबाट वार्ताका लागि कोर कमाण्डरलाई जिम्मा दिएका थिए । इमरानले एक संस्थाका रूपमा सेनाविरुद्धका आफ्ना भाषणहरू रोक्नेछन् । उनले केही सैन्य अधिकारीबारे बोल्न सक्ने भए पनि सेनाप्रमुखबारे सिधा रूपमा कुनै बयानबाजी गर्ने छैनन् ।

इमरान र उनकी पत्नी बुशरा बेगमलाई तोशाखाना मुद्दामा १४ वर्षको जेलमा जमानत दिइनेछ भने त्यसपछि गोप्य दस्तावेज चोरीको मुद्दामा पनि जमानत पाउनेछन् । इमरानविरुद्ध जमिन हडपेको आरोपको अल कादिर मुद्दा चलिरहनेछ र उनले सम्झौता उल्लंघन गरेमा फेरि जेल पठाइनेछ ।

पाकिस्तानमा कुनै पनि नेताविरुद्ध सत्ताबाट हट्नेबित्तिकै तीव्र रूपमा मुद्दाहरू लाग्ने र जेल जाने तथा जेलबाट मुद्दा फिर्ता भएर रिहा हुने क्रम पनि तीव्र गतिमा हुने गरेको छ । यसअघि नवाज शरिफको मुद्दामा पनि यस्तै परिघटना देखिएको थियो । गत फेब्रुअरीमा भएको निर्वाचनमा दुई ठूला पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टीको कडा टक्करबीच इमरानका निर्दलीय उम्मेदवारहरूले सबैभन्दा बढी सिटमा जित हासिल गरेका थिए ।

यस घटनाले पनि सेनामाथि जनतमको दबाब बढेको थियो । पीटीआई पार्टी पुनर्गठनको स्वीकृति पाइसकेका कारण इमरानलाई जेलबाहिर निकालेर सेनाले शहबाज सरकारमाथि पनि काउन्टर ब्यालेन्स गर्नसक्ने चर्चा सुरु भएको छ । इमरान खान पछिल्लो ८ महिनादेखि पाकिस्तानको जेलमा छन् ।

उनलाई सबैभन्दा पहिले तोशाखाना मुद्दामा ३ वर्षको जेल सजाय सुनाइएको थियो । तर, गत फेब्रुअरीमा पाकिस्तानको चुनावभन्दा केही दिनअघि तीनवटा मुद्दामा गरी ३१ वर्षको जेल सजाय सुनाइएको थियो ।