भुइँकटहर पोषक तत्वको भण्डार हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।
भुइँकटहरलाई स्वास्थ्यको फाइदाका हिसाबले अदभूत फल मानिन्छ ।
के–के फाइदा?
आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।
भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।
भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।
एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।
नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पु¥याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।
ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटहरले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ ।
भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।