• मंसिर १४ २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले लिए पद तथा गोपनीयताको शपथ लिए

चैत्र २५ २०८०, आईतवार

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन् ।
एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन् ।
उनीहरू सबै विनाविभागीय मन्त्री हुन् । महरा रोल्पा प्रतिनिधि सभा क्षेत्रनम्बर १ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए ।
यसअघि उनी एमालेको लिला गिरी नेतृत्वको सरकारका पालमा तीन महिना आर्थिक मामिला मन्त्री बनेका थिए । संघीय सरकार समीकरण उलटफेर भएपछि त्यसको बाछिटा प्रदेशसम्म पुग्दा उनी मुख्यमन्त्री बनेका हुन् । उनलाई लुम्बिनी प्रदेशसभामा रहेका १० दलका ८७ सांसदमध्ये पाँच दलका ४८ सांसदको समर्थन छ ।

उनलाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादी पार्टीका १ र एकजना स्वतन्त्र सांसदले समर्थन गरेका थिए । २०२० सालमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं ५ ९साविक गजुल गाविसको वडा नं २० मा जन्मिएका महरा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका थिए ।

राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका महराले २०३७ सालदेखि २०५० सालसम्म शिक्षकको रुपमा विभिन्न विद्यालयमा अध्यापन गराएका थिए ।

उनी २०४२ सालमा अनेरास्ववियु दाङका सचिव, २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका थिए । महरा २०५० सालदेखि पार्टीमा पूर्णकालीन सदस्यहुँदै २०५१ सालमा नेकपा माओवादी रोल्पाको जिल्ला सेक्रेटरी भएर भूमिगत रुपमा सशस्त्र विद्रोहमा संलग्न थिए ।

उनी २०५६ सालमा माओवादीको प्रवास विभागको जिम्मेवारीमा पुगेका महरा २०६० सालमा केन्द्रीय सदस्य बनेका थिए । २०७८ सालमा स्थायी समिति सदस्य बनेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट र विश्वासपात्रका रुपमा रहेका महरा प्रचण्डकै अडान र जोडबलका कारण गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।
२०६२ सालदेखि प्रचण्डका स्वकीय सचिव बनेका महरा २०६४ सालमा समानुपातिक बाट संविधानसभा सदस्य बनेका थिए ।