• बैशाख २३ २०८१, आईतवार

श्रमशक्ति निर्यातबाट चालु खातामा बचत

चैत्र २४ २०८०, शनिबार

चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा चालु खातामा १ खर्ब ६६ अर्ब ८७ करोड रूपैयाँ बचत हुन आएको नेपाल राष्ट्र वैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको आर्थिक तथा वित्तिय स्थितिमा चालुखातामा बचत देखिएको हो ।

चालु खातामा देखिएको बचतका कारण यो वर्ष देशको आर्थिक स्थिति सापेक्ष बलियो हुँदै गएको देखा परेको छ । जब कि गत आर्थिक वर्षमा यही अवधिमा चालु खाता ५५ अर्ब २८ करोडले घाटामा रहेको देखिएको थियो । यस वर्षमा देखा परेको आर्थिक सापेक्ष बलियो आर्थिक अवस्था नेपालको आफ्नो उत्पादनका कारण भने हुन गएको होइन ।

यी सबै आवासीय र गैरआवासीय व्यक्ति तथा संस्थाबीच भए गरेका चालु प्रकृतिका आर्थिक कारोबारका परिणाम हुन् । व्यक्ति तथा संस्थाबीच भएका कारोवारका सिलसिलामा सम्बन्धित खातामा देखिएको नगद सन्तुलनको अवस्था हो चालु खातामा देखिने बचत ।

यस्तो बचत निश्चित समयावधिभित्र देखा पर्दछ । यी खातामा विशेष गरी वस्तु तथा सेवा व्यापार खाता, आम्दानी खाता र ट्रान्सफर खाता अस्तित्वमा रहन्छन् । तर देशको खस्किँदो अर्थतन्त्रका कारण यति हुँदा पनि ‘त्राण धान्ने’ र स्वास फेर्ने बाटो भएको छ ।

श्रमशक्ति निर्यातको तथ्याङ्क लिने हो भने फागुन महिनामा मात्र रेमिट्यान्स बढेर १ खर्ब २२ अर्ब पुगेका कारण चालु खातासँगै शोधनान्तर बचत पनि उल्लेख्य बढेको स्वीकार गरिएको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा शोधनान्तर बचत ३ खर्ब नाघेको राष्ट्र बैंकको नजरमा परेको छ । यसको अर्थ हो, देशबाट बाहिरिने भन्दा देशमा भित्रिने रकम बढी हुन आएको छ ।