• बैशाख १० २०८२, बुधबार

इजरेलले सहायताकर्मी पनि मार्न थालेपछि चिढिए बाइडेन, दिए सहयोग रोक्ने चेतावनी

चैत्र २३ २०८०, शुक्रबार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इजराइललाई हमासविरूद्धको लडाईंमा सहयोग नगर्न सक्ने चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा त्यहाँका नागरिकहरूसँगै मानवीय सहायता लिएर जानेहरूको सुरक्षा सुनिश्चित नगरेको भन्दै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुलाई आगामी दिनमा अमेरिकी सहयोग नहुन सक्ने चेतावनी दिएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री नेतेन्याहुसँग आधाघन्टा टेलिफोन संवाद गरेका थिए । त्यस क्रममा बाइडेनले गाजामा नागरिकहरू नमारिने र उनीहरूलाई क्षति नपुग्ने अवस्था र त्यहाँ मानवीय सहायता अभियान चलाइरहेका सहयताकर्मीहरूको सुरक्षाका लागि ठोस कदमको घोषणा र कार्यान्वयन गरिहाल्न प्रधानमन्त्री नेतेन्याहुलाई चेतावनी दिएको ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले बताए ।

इजराइली प्रधानमन्त्री नेतेन्याहुसँग राष्ट्रपतिको टेलिफोन वार्तापछिको प्रेस ब्रिफिङमा किर्बीले इजराइल केही दिनमै बाइडेनले भने अनुसारका कदम चाल्छ भन्नेमा वासिङटन विश्वस्त रहेको बताए । अन्यथा इजराइल नीति परिवर्तन गर्न अमेरिका बाध्य हुने उनले बताएको रोयटर्सले उल्लेख गरेको छ । नीतिमा कस्तो परिवर्तन हुन्छ भन्नेबारेमा उनले थप बताएनन् ।

‘केही घन्टा नभए केही दिनमै उहाँहरूले सकारात्मक कदम चाल्नुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने । गत सोमबार गाजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेनका ७ जना स्वयंसेवकहरू इसराइली हवाई आक्रमणमा मारिएका थिए । युद्धको भुंग्रोमा परेका गाजाका नागरिकहरूलाई खाद्यान्नदेखि लत्ताकपडा लगायतका मानवीय सहायता पुर्याउँदै आएको डब्लुसिकेका स्वयंसेवकहरू इजराइली आक्रमणमा मारिएपछि त्यसले विश्वको ध्यान तानेको छ ।

त्यतिबेला पनि राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत अन्य शक्तिराष्ट्रहरूले घटनाको भत्र्सना गरेका थिए । डब्लुसिकेका सहायताकर्मीहरू मारिएपछि गाजामा मानवीय सहायता लैजाने काम प्रभावित भएको छ । त्यसले इसरालमाथि विश्व समुदायको दबाब बढेको छ । अमेरिकाले गाजामा हमासविरूद्ध लड्न इजराइललाई हतियार दिनेदेखि संयुक्त राष्ट्रसंघमा उसको पक्ष लिँदै आइरहेको छ । बाइडेनले आफूले भनेअनुसार नभए अमेरिकाले आफ्नो नीति नै परिवर्तन गर्न सक्ने चेतावनी दिएका हुन् ।

गाजामा ठूलो संख्यामा नागरिकहरू मारिएपछि संयुक्त राष्ट्रसंघमा युद्धविरामका लागि पटकपटक प्रस्तावहरू आएका थिए । अमेरिकाकै आडमा इसराइलले संयुक्त राष्ट्रसंघको निर्णय पनि अस्वीकार गरेको थियो । तर, मानवीय सहायताकर्मीहरू नै मारिएपछि भने अमेरिका इजराइलसँग चिढिएको हो । हमासविरूद्धको लडाईंमा ठूलो संख्यामा मारिएपछि अमेरिकाले यसअघि पनि इसराइललाई गजामा आक्रमणको रणनीति परिवर्तन गर्न भनेको थियो । इजराइलले भने भूलवस गजामा मानवीय सहायताकर्मीहरू मारिएको बताएको छ ।

यससम्बन्धमा छानबिन तथा अनुसन्धान भइरहेको पनि जानकारी गराएको छ । त्यसयता इजराइलले लगातार गाजामा आक्रमण गर्दै आएको छ । बीचमा केही दिन युद्धबिराम भएपनि हमासले सबै बन्दी नछाडेपछि इसराइलले पुन आक्रमण बढाएको थियो । इजराइली प्रधानमन्त्री नेतेन्याहुविरूद्ध इजराइलमा पनि ठूलो संख्यामा मानिसहरूले प्रदर्शन गरेका थिए ।

उनीहरूले गाजामा बन्दी बनाइएका इजराइली नागरिकहरूलाई वार्तामार्फत् स्वदेश फिर्ता ल्याउने वातावरण बनाउनुको सट्टा आक्रमण गरेर प्रधानमन्त्री नेतेन्याहुले आफ्नै नागरिकहरूमाथि खतरा बढाएको आरोप लगाएका थिए । गाजामा इजराइलको आक्रमणबाट अहिलेसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।