काठमाडौं । गृहमन्त्री रवि लामिछाने निर्वाचनसम्बन्धी नयाँ कानून बनाउन उत्साहित देखिएका छन् ।
निर्वाचन आयोगले तयार पारेको निर्वाचन कानूनसम्बन्धी मस्यौदाबारे ब्रिफिङ लिन शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा जाने भएका छन् ।
आयोगका पदाधिकारीले यसैसाता गृहमन्त्री लामिछानेलाई भेटेर कानून संशोधनमा सरकारले तदारुकता देखाउनुपर्ने बताएका थिए । स्रोतले खबरहबसँग भन्यो, ‘सो भेटपछि गृहमन्त्रीज्यूले निर्वाचन आयोगमै आउँछु भन्नुभयो, आज दिउँसो प्रमुख निर्वाचन आयुक्तज्यूले कानूनी सुधार गर्नुपर्ने विषयहरुबारे प्रस्तुतीकरण गर्ने कार्यक्रम तय भएको छ ।’
नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममै निर्वाचन सम्बन्धी कानूनहरुलाई परिमार्जन गर्ने प्रतिवद्धता जनाएको थियो । त्यसलगत्तै आयोगका पदाधिकारीले नयाँ वर्षको बजेट नआउँदै ०८० साल असार १८ गते मस्यौदा तयार पारेर साउन १८ गते सरकारलाई विधेयकको मस्यौदा पेश गरेको थियो ।