• मंसिर १४ २०८१, शुक्रबार

नाउपाको पुरै मत नपाउने भएपछि लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा दिँदै

चैत्र २२ २०८०, बिहीबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि राजीनामा दिने भएका छन् । नागरिक उन्मुक्ति पार्टीको विवाद र लोकतान्त्रिक समाजवादी पार्टी पनि नयाँ गठबन्धनतिर गएपछि मुख्यमन्त्री चौधरी राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । नाउपाका चार र लोसपाका तीन सांसद छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनमा र संरक्षक रेशम चौधरी कांग्रेसको पक्षमा उभिएपछि नाउपा सांसद दोधारमा छन् । उनीहरूको मत बाँडिने भएपछि मुख्यमन्त्री चौधरी विश्वासको मत जुटाउन नसकिने निष्कर्षमा पुगेका हुन् । नाउपामा विवाद नदेखिएको भए राप्रपाको समर्थन लिएर विश्वासको मत हासिल गर्ने मुख्यमन्त्रीको योजना थियो । सरकारलाई विश्वासको मत नपुग्ने भएपछि लोसपा पनि नयाँ गठबन्धनतिर लागेको हो ।

‘एमाले–माओवादी सहितको नयाँ गठबन्धनमा जाने निर्णय भएको छ,’ लोसपा नेता सन्तोष पाण्डेले भने । उनी चौधरी नेतृत्वको सरकारमा आन्तरिक मामिलामन्त्री छन् । बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिने तयारी गरेको कोर टीममा रहेका नहकुल केसीले बताए । ‘विश्वासको मत प्राप्त हुने देखिएन, त्यसैले मुख्यमन्त्रीज्यूले राजीनामा दिने तयारी गर्नुभएको छ,’ केसीले भने ।

यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले कांग्रेस प्रदेश संसदीय दलको बैठक बोलाएका छन् । केही बेरमा बस्ने बैठकले निर्णय गर्ने कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७ सांसद छन् । कांग्रेसलाई समर्थन गरिरहेको जनमत पार्टीका तीन, राष्ट्रिय जनमोर्चाका एक र स्वतन्त्र एक सांसद छन् ।

त्यस्तै, विपक्षी गठबन्धनमा रहेका एमालेका २९, माओवादी केन्द्रका सभामुख सहित १०, जसपाका तीन र एकीकृत समाजवादीका एक गरी ४३ सांसद छन् । लोसपा पनि नयाँ गठबन्धनमा जाने भएपछि बहुमत पुग्ने भएको छ । यसअघि कांग्रेसबाट गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । विश्वासको मत पाउन नसक्ने भएपछि उनले राजीनामाको बाटो रोजेका थिए ।