काठमाडौँ । जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खातुनको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि रिक्त स्थानमा नाम सिफारिस गर्न निर्वाचन आयोगले जसपालाई पत्र पठाएको थियो ।
आज बसेको सो पार्टीको बैठकले हसिना खातुनको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो ।
जसपाले २०७९ को चुनावमा प्रतिनिधि सभातर्फ समानुपातिकमा मुस्लिम कलस्टरमा एक जना पुरुषसहित तीन जना महिलालाई उम्मेदवार बनाएको थियो । त्यसमध्ये झापाकी ६३ वर्षीय सहनाज रहमान निर्वाचित भएकी थिइन । २०७९ फागुन १३ गते ह्रदयघातका कारण उनको कारण निधन भएको थियो ।
भक्तपुरमा पिकनिक कार्यक्रममा गएका बेला अस्वस्थ भइ अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा निधन भएको थियो । उनको निधन भएपछि मुस्लिम महिला कलस्टरको दोस्रो नम्बरमा रहेकी सप्तरीकी ५८ वर्षीय मञ्जु अन्सारीलाई २०७९ चैत ६ गते निर्वाचन आयोगले निर्वाचित गरेको थियो । ठिक एक वर्षपछि मञ्जु अन्सारीको पनि चैत ४ गते ह्रदयघात भइ निधन भएको थियो ।
निर्वाचन आयोगको वेभसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीअनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ । सोही कल्स्टर अनुसार हसिनाको नाम जसपाले सिफारिस गरेको हो ।