• बैशाख २३ २०८१, आईतवार

बेर्ना आर्नो विश्वकै नम्बर एक धनाढ्य

चैत्र २१ २०८०, बुधबार

जर्मनीका धनाढ्य बेर्ना आर्नो संसारका सबैभन्दा धनी व्यक्ति बन्न पुगेका छन् । अमेरिकाको प्रसिद्ध फोब्र्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेलगत्तै आर्नो विश्वका सबैभन्दा धनी व्यक्तिका रूपमा देखा परेका हुन् ।

नयाँ सूचीअनुसार आर्नो संसारकै धनी व्यक्ति दर्ज हुने मात्र होइन, बरू विश्वमा अर्बपतिको सङ्ख्या पनि अहिलेसम्मकै धेरै पुगेको छ । गत वर्षको अर्बपतिको सङ्ख्यामा १ सय ४१ जना थपिन जाँदा यस वर्ष अर्बपतिको सङ्ख्या २ हजार ७८१ जना पुग्न गएको हो ।

विश्वका डलरपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो । यो तथ्याङ्कले विश्वका मुट्ठीभर व्यक्तिको हातमा थुप्रदै गएको धन थुप्रने प्रक्रिया अझ बढेर गएको देखाएको छ ।

नयाँ रिपोर्ट केलाएर हेर्ने हो भने विश्वका अर्बपतिको सम्पत्ति पनि तीमध्ये दुई तिहाईको हातमा थुप्रदै गएको छ भने एक चौथाइको सम्पत्ति उनीहरूको हातबाट खोसिदै गएको छ ।

तथ्याङ्कले नै देखाएको छ कि शीर्ष २० जना अर्बपतिको सम्पत्ति सबैभन्दा धेरै बढेर गएको छ । उनीहरूको कूल सम्पत्तिमा गत वर्षको तुलनामा ७ खर्ब डलर वृद्धि भएको देखिएको छ ।

तीमध्ये सङ्ख्यात्मक रूपमा अर्बपतिहरू अतिमहाशक्ति राष्ट्र अमेरिकाकै बढी देखापरेका छन् । अघिल्ला वर्षको अमेरिकी रेकर्ड कायमै छ । अमेरिकामा अर्बपतिको संख्या ८ सय १३ जना रहेको छ ।

अर्बपति सङ्ख्यात्मक रूपमा दोस्रो स्थानमा अतिमहाशक्तिको रूपमा उदाउँदै गरेको चीनमा देखा परेका छन् । फोर्ब्सका अनुसार चीनमा ४ सय ७३ जना अर्बपति छन् । त्यसपछिको तेस्रो स्थान ओगट्न सफल भारतमा २ सय जना अर्बपति रहेका छन् ।
हाल विश्वमा शीर्ष २० अर्बपतिको नामावली यस प्रकार रहेको छ ः

१. बेर्ना आर्नो : लुई भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक हुन् बर्ना आर्नो ! फ्रेन्च अर्बपति आर्नोको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर रहेको छ ।

२. एलन मस्क : एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्क अमेरिकी हुन् । उनको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब रहेको छ ।

३. जेफ बेजोस : अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर रहेको छ ।

४. मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब रहेको छ ।

५. ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब रहेको छ ।

६. वारेन बफेट : वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर रहेको छ ।

७. बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर रहेको छ ।

८. स्टिभ बाल्मर  : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर रहेको छ ।

९. मुकेश अम्बानी : टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर रहेको छ ।

१०. ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको रहेको छ ।

११. सर्गेइ ब्रिन : गुगलका सहसंस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर रहेको छ ।

१२. माइकल ब्लुम्बर्ग : वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६ अर्ब डलर रहेको छ ।

१३. अमान्सियो ओर्टेगा : स्पेनका फेसन तथा रिटेल क्षेत्रका अर्बपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४. कार्लोस स्लिम हेलु : हेलु मेक्सिकन अर्बपति हुन् । उनको ल्याटिन अमेरिका क्षेत्रमा सबैभन्दा ठूलो टेलिकम कम्पनी छ । अमेरिका मोविलका मालिक कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर रहेको छ ।

१५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : मेयेर्स फ्रेञ्च अर्बपति हुन् । एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर रहेको छ ।

१६. माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ माइकल डेलको सम्पत्ति ९१ अर्ब डलर छ ।

१७. गौतम अडानी : अडानी भारतीय अर्बपति हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८. जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर रहेको छ ।

१९. रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०. जेन्सेन हुआङ : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।

नेपालका धनाढ्य विनोद चौधरीको सम्पत्ति १ अर्ब ८ करोड अमेरिकी डलर रहेको छ । उनी विश्व अर्बपतिको सूचीमा १ हजार ७ सय ६४ औं स्थानमा छन् ।

(एजेन्सीको सहयोगमा)