काठमाडौं । ग्लोबल आईएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीर्मा दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ ।
ग्लोबल आईएमई बैंकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो । उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्को उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्याउनेछ ।
साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीसाधनहरूको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । ग्लोबल आईएमई बैंकले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।