• मंसिर १४ २०८१, शुक्रबार

विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षामन्त्री श्रेष्ठले देख्नु भएन : सांसद बस्नेत

चैत्र २१ २०८०, बुधबार

काठमाडौँ । कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षामन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताए । ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न । विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न । पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नुहुन्न,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर बसेको उनले बताए । ‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुशी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न । उहाँकै अगाडि बोल्छु भन्ने थियो । उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नुभएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको उनको आरोप छ । ‘कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थी सम्बन्धी कार्यविधि जारी गर्नुभएको छ । यो सरकारी कर्मचारीमाथि अविश्वास हो,’ बस्नेतले भने ।

उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए । सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए ।