कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा ।
कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो असह्य हुन्छ ।
कानमा कीरा पस्यो भने के गर्ने त ? सानो चिम्टीले च्यापेर निकाल्ने कि सिन्काले कोट्याउने ? तेल हाल्ने कि ? मान्छेमा द्विविधा हुन्छ । यस्तो द्विविधा त्यसबेला बढी हुन्छ, जब बालबच्चा वा नवजात शिशुको कानमा कीरा पस्छ । उनीहरु छटपटाउँछन्, रुन्छन् । यस्तो अवस्थामा के गर्ने, के नगर्ने ? अलमल हुन्छ ।
कानमा कीरा पस्यो भने धेरै आत्तिनु भने पर्दैन । बरु केही घरेलु विधि अपनाउन सकिन्छ । यसको सबैभन्दा सरल र प्रचलित विधि भनेको जुन कानमा कीरा पसेको छ त्यसमा तेलको केही थोपा हाल्ने हो ।
जब कानमा तेलको थोरै थोपा हालिन्छ, कीरा त्यसमा लपेटिन्छ । हिंड्न, उड्न सक्दैन । त्यसपछि कीरा पसेको कानतर्फ ढल्किएर टाउकोलाई सुताउनुपर्छ । यसो गर्दा कानभित्रको कीरा निस्कन सक्छ ।
कीरा कानको बाहिरी सतहमा छ, आँखाले देखिने ठाउँमा छ भने सावधानीपूर्वक आफैंले पनि निकाल्न सकिन्छ । यस्तोमा कानलाई भुईंतिर झुकाएर, हल्लाएर ट्वीचरले बाहिर निकाल्न सकिन्छ ।
धेरै जना बिरामीले घरमै त्यो कीरालाई निकाल्न कोसिस गरेर कानको जालीमा प्वाल पारेर, संक्रमण बनाएर अस्पताल आउने गर्छन् । कीरा आँखाले देख्ने ठाउँमा छैन, भित्र पसेको छ भने घरमा निकाल्ने कोसिस गर्नु हुँदैन ।
अस्पतालमा गएर चिकित्सकको निगरानीमा कीरालाई निकाल्न सजिलो हुन्छ र पछि केही समस्या पनि हुँदैन । कीराको साथै कानभित्र कहिलेकाहीं सिन्का वा बर्डको कपास पनि अड्कने गर्छ, यस्तो अवस्थामा पनि चिकित्सकको निगरानीमा निकाल्नुपर्छ ।
बालबालिकाहरू खेलौनासँग धेरै खेल्ने गर्छन् । यस्तोमा कतिपय बालबालिकामा खेलौना वा घडीको साना ब्याट्री कानमा पस्ने समस्या पनि हुन्छ । कानमा त्यस्तो ब्याट्री पस्यो भने त्यो इमरजेन्सी अवस्था हो ।
ब्याट्री कानमा पस्यो र समयमा निकालिएन भने त्यसमा भएको रसायन निस्किएर संक्रमण हुने, नसामा समस्या हुने समेत हुन्छ । त्यसैले ब्याट्री अड्किएको खण्डमा तुरुन्त अस्पताल गएर चिकित्सकको निगरानीमा त्यसलाई निकाल्नुपर्छ ।