• मंसिर ११ २०८१, मंगलवार

ट्वान्टी-२ श्रृंखलामा बरोडाविरुद्ध नेपालको लगातार जित

चैत्र २० २०८०, मंगलवार

काठमाडौं । ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ ।

श्रृंखलामा यो नेपालको लगातार दोस्रो जित हो । मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।
बरोडाका भानु पानियाले ३८ रन बनाए पनि हार टार्न सकेनन् । बाबा खानले २७, विष्णु सोलान्कीले २५ र अमित पासीले १४ रन बनाए ।
नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अभिनाश बोहराले समान दुई विकेट लिँदा गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको थियो । नेपालका कुशल मल्लले अविजित २५ बलमा ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन थपे । ८२–५ को अवस्थाबाट यी दुईले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पु‍र्याएका हुन् । यसबाहेक, अनिलकुमार साहले २५, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन थपे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेख भने समान नौ रनमा आउट भएका थिए ।

बरोडाका बाबा खनाले दुई विकेट लिए । मोहित मोगिन्या र परिक्षित पटिदरले समान एक विकेट लिए । एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक श्रृंखला खेल्ने तालिका छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।