• मंसिर १४ २०८१, शुक्रबार

रेशमको गुनासो,-आफ्नै साथीले मलाई आत्महत्या गर्ने अवस्थासम्म पुयाईसके

चैत्र १९ २०८०, सोमबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पु‍र्याएको गुनासो गरेका छन् । उनले आफूलाई सधै जेलमा राख्ने नियत बोकेकाहरूले ज्यान मार्ने धम्की दिएको भ्रामक कुरा फैलाएको आरोप लगाए ।
अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे । ‘सरकारमा जाने नजाने विषयमा वादविवाद भएको साँचो हो । महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरूले हैसियत पनि खोज्नुभएको साँचो हो । हैसियत खोज्दा वादविवाद भएकै हो। तर, बैठकमै सहभागी भएका साथीहरूले भ्रामक कुरा फैलाउनुभयो । मलाई सधै जेलमा राख्ने नियत बोकेकाहरूले त्यस्ता भ्रम फैलाइरहेका छन्,’ रेशम चौधरीले भने ।

रेशमले पार्टीभित्रको आन्तरिक विवादले तीन महिनादेखि खाना खान नसकेको बताए । आफूले रोपेको विरुवा काट्न नदिइने उनले प्रण गरे । उनले एमाले–माओवादी गठबन्धनले नागरिक उन्मुक्ति पार्टी चलाउन खोजेको आरोपसमेत लगाए ।
‘तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्नेसम्म परिस्थितिमा पु‍र्याइसके । एकथरीले केन्द्रीय समितिको निर्णय नमान्ने भन्छ । केन्द्रीय समितिको निर्णय नमान्ने भए पार्टी कसले चलाइराखेको छ ? पार्टीमा बाह्य हस्तक्षेप भयो । अहिलेको सरकारले हाम्रो पार्टी चलाउन खोज्यो । यसबारे हामी निर्णय गरेर अगाडि बढ्छौं,’ उनले भने ।

उनले पार्टीका संस्थापक अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठलाई पदीय लोलुपतामा फसेको आरोप लगाए । अर्काको इशारामा चल्ने सबैलाई कारबाहीको चेतावनीसमेत उनले दिए । “उहाँमा (रञ्जिता) पदीय लोलुपता धेरै भयो । पार्टीको निर्णय मान्छ भने ठीकै हो । नभए चैत २३ र २४ गतेको बैठकले छानी छानी कारबाही गर्छ । चाहे त्यो पार्टी अध्यक्ष होसर या संरक्षक । गल्ती गर्नेलाई कारबाही हुन्छ,’ उनले भने ।

उनले चैत बैठकको निर्णय नआएसम्म सुदूरपश्चिम सरकारको समर्थन कायमै रहने बताए । यता अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर नेताहरूले रेशम चौधरीले हत्या गर्ने धम्की दिएको बताएका छन् । पत्रकार सम्मेलन गरेर उनीहरूले आफूहरूमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको बताएका छन् ।

पार्टी केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको बताए । पार्टी कार्यालयभित्रै आफूमाथि कुटपिट हुनु र ज्यान मार्ने धम्की आउनुले असुरक्षा बढेको उनको भनाइ छ ।