धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एकवटा मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा राखेका थिए ।
बालुवाटारमा सोमबार भएको गठबन्धन बैठकमा एकीकृत समाजवादीलाई तत्काल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा सत्तारूढ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच छलफल भएको थियो ।
साथै यता बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति पनि भएको छ । यससँगै बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता शालिकराम जम्कट्टेललाई सोमबार एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।
जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको स्रोतको भनाइ छ ।