• मंसिर १२ २०८१, बुधबार

बाइपोलर डिसअर्डर के हो?

चैत्र १९ २०८०, सोमबार

बाइपोलर डिसअर्डर एक मनोविकार हो । खासगरी डोपामिन हार्मोनको असन्तुलनका कारण यो समस्या हुन्छ । यसले गर्दा व्यक्तिको मुड वा व्यवहारमा छिनछिनमै परिवर्तन आउन थाल्छ ।

लक्षण

बाइपोलर भएका व्यक्तिमा म्यानिक एपिसोडका बेला निम्न लक्षण देखिन सक्छन् ।

-ऊर्जामा वृद्धि

-मूडमा अचानक बढोत्तरी

-शारीरिक र मानसिक गतिविधिमा वृद्धि

-द्रुत गतिमा सोच्ने वा कोही अगाडि भए भाषण दिए जसरी बोल्ने

-गलत निर्णय लिने

-निद्रा कम हुने

-लापरवाही ड्राइभिङ

-अत्याधिक आत्म–महत्वको भावना आउनु

कारण

बाइपोलर डिसअर्डरको कारणबारे अझसम्म अध्ययन तथा अनुसन्धान गर्नेले पत्ता लगाउन सकेका छैनन् । तर यसलाई बढावा दिने वा हुन सक्ने कतिपय जोखिम वा कारक तत्व छन् ।

पारिवारिक इतिहास : परिवारका सदस्यहरू (आमाबाबु वा भाइबहिनी)मा पहिले नै यस्तो भएमा त्यस परिवारको सदस्यमा हुनसक्ने जोखिम बढी हुन्छ ।यसबारे भएको अध्ययनले यस समस्या भएका ८० देखि ९० प्रतिशतमा वंशाणुगत कारणले हुने गरेको पाइएको हो ।

परिस्थितिजन्य कारक : घातक वा तनावपूर्ण घटना घटेको तर त्यसको सामना गर्न नसक्दा पनि यसको जोखिम हुनसक्छ ।तनावपूर्ण घटना भन्नाले जस्तै, खराब सम्बन्ध, सम्बन्धविच्छेद, परिवारमा कसैको मृत्यु, गम्भीर रोग र आर्थिक समस्या ।

मस्तिष्क संरचना र कार्य : मस्तिष्कको आकारमा भिन्नता वा मस्तिष्कका कतिपय रसायनहरूमा आएको असन्तुलनले पनि यो समस्यालाई उक्साउन मद्दत गर्छ ।

पहिचान

बाइपोलर डिसअर्डरका लक्षणहरू बुझ्न चिकित्सकले पहिले बिरामीसँग कुरा गर्छन् । यसबाहेक बिरामीको शरीरमा अन्य रोगहरू (जस्तै, थाइराइड ग्रन्थीको अवस्था) पत्ता लगाउन आवश्यक शारीरिक परीक्षण, रगत परीक्षण एवं आवश्यकताअनुसार स्क्यान पनि गराइन्छ । जसबाट लक्षणहरू पत्ता लगाउन सकिन्छ ।

चिकित्सा इतिहास, पारिवारिक इतिहास र अन्य चलिरहेको औषधिहरूको सूची पनि मूल्यांकन गर्न आवश्यक हुनसक्छ । केही चिकित्सकले लक्षणहरू राम्ररी बुझ्न बिरामीको परिवारका सदस्यहरू वा साथीहरूसँग पनि कुरा गर्न सक्छन् ।

यदि चिकित्सकलाई यो रोगको शंका छ भने व्यक्तिलाई मानसिक स्वास्थ्य सेवाविज्ञ मेन्टल हेल्थकेयरको मद्दत लिन

सल्लाह दिन सक्छन् । त्यस्ता व्यावसायिक तालिम प्राप्त तथा अनुभवी चिकित्सकले सामान्यतया रोगको प्रकार पहिचान गर्न लक्षणहरूको ढाँचा र तीव्रतालाई नजिकबाट हेर्छन् ।

उपचार

यद्यपि यस रोगका लागि अहिलेसम्म कुनै सम्भावित उपचार छैन । केही उपचारको मद्दतले यसका लक्षणहरू कम हुन सक्छन् ।

औषधि

चिकित्सकले लक्षणहरू नियन्त्रण गर्न निम्न औषधिहरू सिफारिस गर्न सक्छन् ।

-एन्टिसाइकोटिक्स (लक्षण नियन्त्रण गर्न)

-मूड स्टेबिलाइजर (लक्षण शान्त राख्न)

-एन्टिडिप्रेसेन्ट (यसको साइड इफेक्टको कारणले यो विरलै प्रयोग गरिन्छ)

-एन्टिएन्जाइटी औषधि (म्यानिक एपिसोडहरूको जोखिम कम गर्छ)

तर यी औषधिका केही साइड इफेक्ट पनि हुन्छन् । अवसादको जोखिम, तौल बढ्ने जस्ता समस्या यी औषधिहरूले लामो समयसम्म देखाउन सक्छन् ।

वैकल्पिक उपचार

ट्रान्सक्रयानियल चुम्बकीय स्टिमुलेसन (तालुमाथिबाट चुम्बकीय उत्तेजना) : यस प्रक्रियाको क्रममा चुम्बकीय तरंगहरू मस्तिष्कको विभिन्न भागहरूमा दिइन्छ ।

भ्यागस नर्भ स्टिमुलेशन (भ्यागस स्नायुको उत्तेजना) : यसमा पेसमेकर जस्तो यन्त्र प्रत्यारोपण गरिन्छ । यी उपकरणले मस्तिष्कमा विद्युतीय संकेतहरू पठाउँछन् ।