• मंसिर १४ २०८१, शुक्रबार

भारतीय ठूला ट्रकहरुले नेपालको बाटो बिगारे, सडक भासिन थाले : रघु पन्त

चैत्र १८ २०८०, आईतवार

काठमाडौं । एमाले सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा ग्रहौं भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन् ।

‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ । नेपाली ट्रकहरूको त्यति धेरै क्षमता छैन,’ उनले भने । यसले वर्षैपिच्छे सडकको बजेट बढाएको पनि सांसद पन्तले बताए । नेपाली सडकमा भारतीय ट्रकहरूको सिन्डिकेट नै रहेको उनको भनाई छ ।

निर्वाध रूपमा नेपाल आउने भारतीय ट्रकहरू काठमाडौंमा ७२ घन्टासम्म बस्ने र यहाँबाट पनि सामान लोड गरेर लैजाने गर्नाले यहाँका ट्रक व्यवसायीहरू मारमा परेको उनले बताए । ‘नेपालमा भएका २० हजार ट्रकले काम पाउन छोडे । त्यसले चालक, सहचालक, ढुवानी मजदुर समेत गरी ८० हजारको रोजगारी गुम्यो,’ उनले भने ।

भारतीय ट्रकहरूलाई भेहिकल कन्साइनमेन्ट एन्ड ट्र्याकिङ सिस्टम पनि लागु नहुने र भारवाहनमा नेपाली ट्रकलाई कडाइ गर्ने कुनैपनि निकायले भारतीय ट्रक किन यो सिस्टमभित्र आएन भनेर आजसम्म प्रश्न गर्न नसकेको बताए । ‘नेपाली ट्रकले ढुवानीमा नेपाल सरकालाई भ्याट तिर्दै आएका छन् तर भारतीय ट्रकले नेपाल प्रवेश गर्दा कुनैपनि कर तिर्दैनन् । कारबाही गर्ने निकायले नियम उल्लंघन गरेको देखेर पनि नदेखेको जस्तो गर्न थालेका छन्,’ उनले भने ।

यस्तो हुँदा नेपालमा ठूलो रोजगारी दिने र नेपालीको मात्रै लगानी भएको यातायात उद्योग सरकार नभए जसरी बिचल्लीमा परेको उनले बताए ।