धनगढी । नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमाले सहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइएपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन् । सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर सो निर्णयको पार्टीका एकथरी पक्षले कडा रूपमा विरोध जनायो । सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद नै गरे । त्यसको भोलिपल्ट बिहीबार नाउपाका २ विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो ।
सो जिम्मेवारी लिएको देखेपछि पार्टी अध्यक्ष श्रेष्ठ झन् कडारूपमा प्रस्तुत हुँदै शुक्रबार प्रदेश सरकारबाट फिर्ता हुनु भन्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन नै जारी गरिन् । फिर्ता नभए कारबाही गर्ने चेतावनी समेत उनले दिइन् ।
तर सो कारबाही गर्ने चेतावनी स्वरुपको पत्र सम्प्रेण गरेको केही घन्टामै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै एक्लिन पुगेकी हुन् । पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन् तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन् ।
श्रीमान र श्रीमती रहेका रेशम चौधरी र रञ्जितालाई मिलाउनको लागि पार्टी नेता पण्डितले टीकापुर बैठकबाट आफूले रञ्जितालाई साथ दिएको र निर्णयमा सहयोग गरेको बताएका छन् तर आफूले उनीहरूलाई मिलाउन नसकेको भन्दै सो निर्णयबाट पछि हटेको पण्डितले बताए ।
पण्डितले भने,‘श्रीमान र श्रीमतीलाई मिलाउनको लागि टीकापुर बैठक र सो बैठकबाट नयाँ गठबन्धनलाई समर्थन गर्नुपर्ने तथा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निर्णयमा पुगेका थियौ । तर मैले उनीहरूलाई मिलाउन सकिन । रेशमबिना नाउपाको परिकल्पन गर्न नसकिने भएकोले म सो निर्णयबाट पछि हटेको हुँ ।’ टीकापुर बैठकमा १२ जना संस्थापक सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी पार्टी संस्थापक तथा सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी, अर्का संस्थापक लक्ष्यबहादुर चौधरीले यसअघि नै टीकापुर बैठकको निर्णयमा आफूहरूको सहमति नरहेको घोषणा गरिसकेका छन् । पण्डितले पनि सो निर्णयमा समर्थन नरहेको घोषणा गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पार्टीभित्र अल्पमतमा परेकी हुन् । नाउपाका २१ जना केन्द्रीय संस्थापक सदस्य रहेका छन् ।