काठमाडौं । संसदमा स्थानीय रक्सी र गाँजा खेती खुलाउनु पर्ने माग उठेको छ । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी हुन् ।
राष्ट्रिय सभामा प्रादेशिक समयमा शुक्रबार नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बोल्दै उनले यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताइन् । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने गरेको तर राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।
उनका अनुसार पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको शुद्ध रक्सी हातखुट्टामा बाथ भएको मानिसले मालिस गर्यो भने निको हुन्छ । तर, स्थानीय प्रशासनले त्यस्तो रक्सी भाँडा फालिदिन्छ । कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् ।
साथै उनले गाँजा खेती पनि खुलाउनुपर्ने बताइन् । गाँजा औषधिको रुपमा प्रयोग हुने गर्छ । गाँजाको बोट धागोका लागि प्रयोग हुने गर्छ । ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सकिने उनको तर्क थियो ।