• बैशाख १० २०८२, बुधबार

दक्षिण अफ्रिकामा पुलबाट यात्रुवाहक बस खस्दा ४५ जनाको मृत्यु,एक मात्र ८ वर्षीया बालिका जिवित

चैत्र १६ २०८०, शुक्रबार

एजेन्सी । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा एक यात्रुवाहक बस पुलबाट झन्डै ५० मिटर तल खस्दा ४५ जनाको मृत्यु भएको छ । एकजना आठ वर्षीया बालिका जीवित भेटिएको अधिकारीहरूले बताएका छन् । उनको अवस्था गम्भीर छ र अहिले अस्पतालमा उपचार भइरहेको छ।

बसमा बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरमा इस्टरका निम्ति यात्रा गरिरहेका तीर्थयात्रीहरू रहेका थिए। दक्षिण अफ्रिकाको सञ्चारमाध्यमले जनाए अनुसार बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब ३०० किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केन बीचमा रहेको एउटा पुलबाट खसेको थियो। त्यसपश्चात आगो लागेको थियो।

बिहीवार साँझसम्म उद्धार कार्य सञ्चालन भएको थियो। मृतकमध्ये केहीको शव निकाल्न गाह्रो भएको बताइएको छ।

घटनास्थल पुगेका यातायात मन्त्री सिन्दसिवे चिकुङ्गाले बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरिन्।