• बैशाख १० २०८२, बुधबार

रोल्पा सुनछहरीका विद्यार्थीले मगर खाम भाषाबाट दिए यसपालीको वार्षिक परीक्षा

चैत्र १५ २०८०, बिहीबार

चैत्र १५, रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाका आदिवासी जनजाति मगर खाम भाषी समुदायका विद्यालयमा भर्ना भएका १ हजार बालबालिका विद्यार्थीहरूले यस वर्षको वार्षिक परीक्षा आफ्नै रैथाने मातृभाषामा दिएका छन् । रोल्पामा अन्य जातजाति समुदायको भन्दा मगर भाषीहरूको बाहुल्यता बढी रहेको छ ।
सुनछहरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा एकदेखि कक्षा आठसम्म तयार गरी कक्षा एकको पाठ्यपुस्तक ‘गेमी सुनछहरी’ नामक किताब तयार गरी यसवर्ष ३३ वटा विद्यालयका कक्षा एकमा भर्ना भएका विद्यार्थीले आफ्नै मगर खाम भाषामा पठनपाठन गरी परीक्षा दिएका हुन् । किताब बहुउपयोगी बनाइएको छ, किनकि विद्यार्थीलाई पठनपाठन गर्न सजिलो होस् भनेर नेपाली, अङ्ग्रेजी र मातृभाषा मगर खाम भाषामा लेखेर तयार गरिएको छ ।
सुनछहरी गाउँपालिकाले आफ्नो रैथाने मातृ भाषा जोगाउन र पुस्तान्तरण गर्न कक्षा ८ सम्म आफ्नै मातृभाषामा विद्यार्थीलाई पठनपाठन गराउने योजना बनाएको छ भने गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१/०८२ देखि प्रशासनिक कामकाज नेपाली भाषा र मगर खाम भाषाबाट गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताए ।