• फाल्गुन २६ २०८२, मंगलवार

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजाय थपियो

चैत्र १५ २०८०, बिहीबार

काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ । बंगलादेशको गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थप गरिएको जनाएको छ ।

मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउने छैनन् । मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गर्नु पर्ने पनि जनाएको छ ।

सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौं पटक हो । कोभिड महामारीको समयमा मानवीय कारण देखाउँदै बंगलादेश सरकारले सन् २०२० मार्चमा अस्थायी प्रयोजनका लागि जियालाई जेलमुक्त गरिदिएको थियो । बंगलादेश नेशनलिस्ट पार्टीका अध्यक्षसमेत रहेकी पूर्वप्रधानमन्त्री जिया सन् २०१८ देखि जेलमा छिन् ।

बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो । खालेदामाथिको जेल सजाय राजनीतिक प्रेरित रहेको विपक्षी दलले आरोप लगाउँदै आएको छ ।