• मंसिर १४ २०८१, शुक्रबार

एमाले समाजवादी मोर्चामा सहभागी नहुने

चैत्र ९ २०८०, शुक्रबार

चैत्र ९, काठमाडौं । एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री पुष्पकमलसँगको भेटपछि एमालेका अध्यक्ष केपी ओलीले तत्काल समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् ।

सञ्चारकर्मीले दुई नेताबीच केके कुराकानी भयो ? भनेर सोधेको प्रश्नमा ओलीले समसामायीक विषयमा प्रधानमन्त्रीसँग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिएका थिए । दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि शुक्रबार बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो । एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री दाहाललाई जिम्मेवारी दिएको थियो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।

विप्लव गत फाल्गुन ६ गते समाजवादी मोर्चाको संयोजक चयन भएका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाको संयोजक थिए ।