• मंसिर १४ २०८१, शुक्रबार

हाजिर जमानीमा रिहा भए कृष्णबहादुर महरा

चैत्र ९ २०८०, शुक्रबार

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् ।

महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मष्तिष्कको नशामा समस्या छ । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् ।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्धा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए । भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अनुसन्धान अधिकृहरुसँग माओवादीका उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन, ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’