काबुल । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जनाएको छ ।
सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो । विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।
विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ । उसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ । आइएस अमेरिकाले जन्माएर हुर्काएको आतंकवादी मुस्लिम संगठन हो ।
कान्दाहारमा तालिबानका सर्वोच्च कमाण्डर बस्छन् । बिबिसीका अनुसार विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको छ । यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो विस्फोट हो ।