काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीका नेताहरुलाई गम्भीर आरोप लगाउँदै पार्टी त्यागेका छन् । पदाधिकारी तहका नेताहरू नै भ्रष्टाचार, तस्करी लगायत काण्डमा मुछिएको भन्दै बिहीबार राजीनामा दिएको शर्माले सञ्चारमाध्यमलाई जानकारी दिए ।
‘निरङ्कुश राज्यसत्ता विरुद्ध हजारौँको बलिदानबाट आएका पदाधिकारी तहका नेताहरू नै भ्रष्ट्राचार, तस्करी लगायतमा फस्दै गएकोमा यो पार्टीमा बस्नु मेरो नैतिकताले मानेन । यस्तै मधेसको मुद्दा सम्बोधनका लागि पार्टी अध्यक्षसमक्ष पटक पटक कुरा गर्दा समेत वास्ता गर्नुभएन । भविष्य नै नभएको पार्टीमा बसेर केही होला जस्तो लागेन । त्यसैले पार्टी परित्याग गरेँ’, उनले भने ।
यस्तो छ शर्माले दिएको राजीनामा :
आदरणीय अध्यक्ष क.प्रचण्ड
नेकपा (माओवादी केन्द्र)
विषय–राजीनामा
३ वर्ष को भूमिगत जीवन र १५ वर्ष को खुल्ला (संसदीय) राजनीति मा आदरणीय अध्यक्ष क. प्रचण्डसँग केन्द्रीय समितिमा रही काम गर्ने अवसर प्राप्त भयो । यो अवधिमा वहाँ लगायतका नेताहरूसँग सहकार्य गर्दा अमूल्य अनुभव एवं ज्ञान प्राप्त गर्ने अवसर मिल्यो । यसको लागि अध्यक्ष लगायत सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यावाद दिन चाहन्छु ।
नेकपा माओवादी पार्टीको असल नीति र क्रान्तिकारी नेतृत्वकै कारण मैले सरकारी सेवाबाट विद्रोह गरी भूमिगत राजनीतिक यात्रामा जाने निर्णय गरे। जनयुद्धको दौरान आफू सौभाग्यवश पटक-पटक बाँच्न सफल भए पनि आफ्नो परिवारको सदस्यले शहादत प्राप्त गरे । म निर्वाचित संविधान सभा पदमा ओवादीकै कारण राजीनामा नै दिएँ। म माओवादी पार्टीको एउटा बफादार सिपाही भएर इमानदारीपूर्वक देश र जनताको पक्षमा दुई दशक सम्म योगदान गर्ने अवसर प्राप्त गरें।
माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पतालको फरक पाएको अनुभूति हुन्छ । माओवादी पार्टीले लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचान सहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सहित पूर्णसमानुपातिक समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टी सहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन१महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्ड मा संलग्न भएको देखेर आत्मग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलङ्कित गर्ने काम भइरहेको महसुस गरेको छु ।
सम्मानित प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टीका प्रमुख पदाधिकारीहरू बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासङ्घको रूपमा रूपान्तरण हुनु । १० बर्से जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आड भरोसामा सरकारमा रहनकै लागि पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन तसर्थ आजकै मितिबाट म रामकुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु ।
२०८० चैत्र ८