श्रेथा थाभिसिन थाइल्याण्डका प्रधानमन्त्री हुन् । उनी अहिले ६२ वर्ष पुगेका छन् । प्रधानमन्त्री बन्नु अघि उनी पेशाले घरजग्गा ‘रियल स्टेट’ व्यवसायी हुन् । थाइल्याण्डमा पछिल्लो पटक राजनीतिक पृष्ठभूमिका भन्दा पनि विभिन्न फरक पृष्ठभूमिका मानिस सत्तामा आउने र देशको समृद्धिका बारेमा सोच्ने गरिरहेका छन् ।
व्यापारिक पृष्ठभूमिका थाभिसिनले व्यापारबाटै थाइल्याण्डको अर्थतन्त्रमा व्यापक सुधार ल्याएर देखाउन खोजिरहेका छन् । यसका लागि प्रधानमन्त्री भएदेखि उनको प्रयास जारी छ । स्वदेशी अर्थतन्त्रको व्यवस्थापन र विदेशी लगानीको स्वागतका लागि उनी तम्तयार रहँदै आएका छन् ।
प्रधानमन्त्री बने लगत्तैका उनका एकपछि अर्को गरी भएका एकदर्जनभन्दा बढी वैदेशिक भ्रमणले यसको स्पष्ट छनक दिने गरिरहेका छन् । थाइल्याण्डको अर्थतन्त्र सापेक्षतामा उँभो कसरी लगाउने भन्ने अहिले त्यहाँको मुख्य मुद्दा बनिरहेको छ । त्यसैले विश्वका अग्रणी लगानीकर्ता देशहरू चीन, जापान, अमेरिका, स्वीजरल्याण्डलगायतका देशमा उनको भ्रमण र कुराकानी निरन्तरतामा छ ।
प्रधानमन्त्री थाभिसिनले थाइल्याण्डको आर्थिक बढोत्तरीका लागि लगानीकर्ता देशहरूको ‘विश्व आर्थिक मञ्च’ सदुपयोग गर्ने रणनीतिक योजनामा व्यस्त छन् । उनले आफूलाई एक मितव्ययी प्रधानमन्त्रीका रूपमा पनि प्रस्तुत गरिरहेका छन् । उनको प्रधानमन्त्री कार्यालयको भित्तामा एउटा ‘ह्वाइट बोर्ड’ राखेर त्यसैमाथि साइन पेनले विश्वमा कहाँकहाँबाट आर्थिक स्रोतको खोजी गर्ने हो, त्यसको लेखाजोखा गरिरहन्छन् ।
नेपाली कवि भूपी शेरचनको आफ्नै बारेमा लेखिएको कविताको याद गराउँछन् उनी ! भूपीले आफ्नो बारेमा कविता यसरी लेख्छन्, ‘लेख्छन्, केर्छन्, फेरि लेख्छन्, फेरि केर्छन्, यसो हेर्छन्, फेरि लेख्छन्, फेरि केर्छन्, कठैबरा भूपी शेरचन !’
अहिले थाइ प्रधानमन्त्री थाभिसिनका अगाडी पनि एउटा सेतो पाटी झुण्डिइरहन्छ, कार्यालयमा । त्यसमाथि विद्युतीय भुक्तानी, राष्ट्रिय हवाइ केन्द्र, पोटास खानी, टेस्ला कम्पनीका विद्युतीय गाडी आदिका बारेमा विविध योजना लेखिने र केरिने भइरहन्छन् ।
साइन बोर्डमा कोरिएका यी योजना थाइबासीका हित र स्वार्थका लागि कोरिएका देखिन्छन् । यी योजनाले उनलाई देश र विदेश कुदाएको छ । उनको वैदेशिक लगानी भित्र्याउने दौडधुप जारी छ । केही योजना सार्थक पनि भइसकेका छन् । तीन महिना अघि मात्र नोभेम्बरमा अमेजन, गुगल र माइक्रोसफ्टले उनको देशमा कुल ८.३ अर्ब डलर लगानी गरिसकेका छन् ।
यसको सिङ्गो जस प्रधानमन्त्री थाभिसिनलाई गएको छ । उननी भन्ने गर्दछन्, ‘व्यापारका लागि थाइल्याण्ड खुला छ ।’ उनको अघिल्तिर दुई दशक निरन्तर चलेको सैन्य सत्ताको हाउँगुजी र असन्तुष्टिको चाङ छ । थाभिसिन सत्तामा आउँदै गर्दा डामाडोल भएको अर्थतन्त्र उनको अघिल्तिर आइपुग्यो ।
दक्षिणपूर्वी एशियाली देशहरूमा थाइल्याण्ड एकताका दोस्रो ठूलो अर्थतन्त्र मानिन्थ्यो । तर त्यो पछि गएर कुलिनतन्त्रीय अर्थतन्त्रमा परिणत हुन गयो । सन् २०१८ सम्म आइपुग्दा १ प्रतिशत मानिसको हातमा ६६.९ प्रतिशत सम्पत्ति थुप्रन पुगेपछि थाइल्याण्ड भनेकोजस्तो देशमा दरिन केही समय लाग्ने देखिन्छ ।
७ करोड जनसङ्ख्या रहेको थाइल्याण्डमा अहिले कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) २ प्रतिशत मात्र रहन जानुले पनि त्यहाँको विडम्बनापूर्ण आर्थिक अवस्थालाई देखाउँछ । थाइल्याण्डको छिमेकी देश फिलिपिन्स, इन्डोनेसिया, भियतनामले आआफ्ना जीडीपी बृद्धि गरिसकेका छन् । सन् २०१९ को कोरोना महामारीपछि सङ्कटमा परेको अर्थतन्त्र यी छिमेकी देशले उकासे पनि ।
तर यो सङ्कट प्रधानमन्त्री श्रेथासँग कायमै छ । उनले यस्तो आर्थिक संकटबाट देशलाई उभो लगाउन चाहिरहेका छन् । यसका लागि कृषकहरुलाई इन्धन शुल्कमा छुट, संकटमा रहेका कृषकहरुलाई तीन वर्षसम्म ऋणमा छुट र युवालाई विद्युतीय भुक्तानीमार्फत् २८० डलर दिने योजना अघि सारेका पनि छन् ।
उनले चीन र भारतका नागरिक थाइल्याण्डमा आउँदा भिसा लिन नपर्ने नीति लागु गरेका छन् । यसले पर्यटन आगमनमा केही सहजता अवश्यै पुर्याएको छ । पर्यटनका अतिरिक्त थाइल्याण्डलाई स्वास्थ्य तथा आर्थिक ‘हब’ का रुपमा विकास गरिने उनको योजना रहेको छ । अमेरिकासँग पुरानो सहकार्य र चीनसँग सांस्कृतिक सम्बन्ध झनै प्रगाढ बनाउन चाहन्छन् उनी ।
प्रधानमन्त्री थाभिसिनले बैंककको प्रतिष्ठित विश्वविद्यालय चुलङकोर्नबाट सिभिल इन्जिनियरिङ गरेका छन् । गतिशील स्वभावका थाभिसिनले आफ्नो कार्यालयमै शयन कक्ष राखेका छन् । ट्राफिक अस्तव्यस्त बनाएर भीआईपी सवारी गर्नु उनको रुची छैन ।