• मंसिर १४ २०८१, शुक्रबार

मन्त्री पुनलाई रुसी राजदुतले भने,‘सबै नेपाली युवा नेपाल फर्कन इच्छुक छैनन्’

चैत्र ७ २०८०, बुधबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रुसलाई ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न आग्रह गरेका छन् । बुधबार बधाई दिन सिंहदरबारस्थित मन्त्रालय आएका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए.नोभिकोभलाई पुनले नेपालको जलविद्युत र मल उत्पादनमा लगानी ल्याउन आग्रह गरेका हुन् ।

‘हामीले विद्युतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौँ । नेपालको जलविद्युत क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि उपयुक्त क्षेत्र हो’, मन्त्री पुनले भने, ‘सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । रुस मलको कच्चा पदार्थ उत्पादन गर्ने विश्वकै ठूलो देश हो । मल कारखाना खोल्न इच्छुक हुनुहुन्छ भने पनि वातावरण मनाउन हामी तयार छौँ ।’

जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताए । मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन राजदूत नोभिकोभलाई आग्रह गरे । रुस र नेपालबीच लामो सम्बन्ध रहेको तथा रुस सरकारले पूर्वपश्चिम राजमार्गको एक खण्ड तथा जलविद्युतसहित अन्य पूर्वधार निर्माणमा नेपाललाई सहयोग गरेको स्मरण मन्त्री पुनले गरे ।

अर्को प्रसंगमा मन्त्री पुनने द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । पुनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् त्यसबारे रुसी सरकारलाई जानकारी गराएको स्मरण गरे । उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरे । यस्तै उनले रुस-युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराए ।

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट गरे । तर, रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क उनको थियो । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे । यद्यपि रुसी सेनामा कार्यरत नेपाली मारिएकामा आफूहरू दुःखी भएको उनले बताए । रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको दाबी उनले गरे ।

‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ ।’ उनले सञ्चारमाध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे ।

फरक प्रसंगमा उनले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी मन्त्री पुनलाई दिए । ‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरूसँग साटेर भए पनि नेपालीहरूलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ’, राजदूत नोभिकोभले भने । यस्तै उनले अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन जाने युवालाई नेपालले रोक्नुपर्ने सुझावसमेत दिए ।