• मंसिर ११ २०८१, मंगलवार

इफ्तार टाइमको विशेषता के हो ?

चैत्र ६ २०८०, मंगलवार

इफ्तार शब्द हामी सबैले रमजान शरीफमा दिनदिनै सुनिरहेको शब्द हो । यो रमजान शरीफको पवित्र महिना चलिरहेको छ । जसमा मुस्लिम समुदायले बिहान तोकिएको समयभित्र सेहरी र साँझ तोकिएको समयमा इफ्तार गर्छ । बिहान सेहरीपछि साँझ इफ्तार नहुन्जेलसम्म बीचको अवधि भर पानी पनि नखाएर एक महिनाको रोजा पूरा गर्छन् ।

हामी इफ्तार टाईम बारे चर्चा गरिरहेका छौं । त्यसकारण इफ्तार के हो र कसरी गर्ने भनी बुझ्न जरुरी छ । मुस्लिमहरुले दिनभरी अल्लाहको लागि केही नखाएर उपासना गरेर नमाज पढी रोजा बस्छन् । नेपालका मुस्लिमहरु अहिले हरेक दिन करिब १५ घण्टा सम्म पानी पनि नखाई साँझ रोजा तोड्न इस्लामी शरियतले हलाल वा जयाज भनी तोकेका खानेकुरा खानु नै इफ्तार हो यसको धेरै महत्व छ । इफ्तार गर्नु र गराउनुको निकै पुण्य छ । मुस्लिम समुदायले रमजानको बेलामा सामुहिक इफ्तार पार्टी आयोजना गर्छन् ।

कसैले आफ्नो घरमा इफ्तार पार्टी आयोजना गर्छ जसमा आफ्नो घरपरिवार र टोल छिमेकलाई बोलाएर इफ्तार गर्छन् । भने कसैले होटेलमा आयोजना गर्छन् । जसमा आफ्नो पार्टी आफिसका सहयोगी कर्मचारी साथीभाईका बोलाइन्छ । इफ्तारी दस्तरख्वानमा आ आफ्नो हैसियत अनुसार विभिन्न थरीका परिकारहरु सजाइन्छ ।

यसका साथै घर घर पनि अफ्तार पठाइन्छ, जसले गर्दा एक अर्काबीच घनिष्ठता बढ्छ मनमुटाव हट्छ । मश्जिदमा पनि इफ्तार आयोजना गरिन्छ जसमा घरमा इफ्तार गर्न जान नसकेका रोजेदारहरु बसेर इफ्तार गर्छन् । यसरी मश्जिदमा इफ्तार घरघरबाट गएको इफ्तारीबाट पनि आयोजना हुन्छ र कसै कसैले व्यक्तिगत रुपमा पनि आयोजना गर्छन् । रमजानको महिना यति पवित्र र गरिमामय छ कि इफ्तार टाइममा घर र मश्जिदमा औधी रौनक हुन्छ ।

इफ्तार टाईममा अधिकांशले के गरेका हुन्छन् ? हामी दिन भरी त केही न खाएर रोजा बसी नमाज, नफिल र कुरानपाक आदि पढ्छन् । इफ्तारको समयमा कसै कसैले कहाँ कसरी कसले के गर्दैछ भनी शोशल मीडिया र मीडियालाई नियाल्दै बस्छन् । अझ आफ्नो साथीलाई फोन गरी उसको तिर कस्तो छ हाल खबर बुझ्न फोनमा कुरा गर्छन् ।

हाल अधिकांश आफ्ना आफन्त नातादार, छोरा बुहारी, छोरी ज्वाइ, नातीनतिना, सम्धी सम्धिनीलाई भीडियो क्नफ्रेन्शकल गरी इफ्तारमा पाकेका परिकारहरु देखाउछन् । उताको माहोल कस्तो छ भनी छलफल गर्छन् । किनमेल गरेका सरसामान हेराउँछन् । यसका साथै अन्य विभिन्न विषयमा चर्चा परिचर्चा हुँदै गर्दा मगरिबको अजान हुन्छ र इफ्तार सुरु गर्छन् । कुरा गर्दा र शोशल मीडियामा कमेन्टमा बहस गर्न यति व्यस्त हुन्छन् यस्तै चलिरहेछ अहिलेको रमजान शरीफ ।

यसका साथै महिलाहरु पकवानहरु खानेबेला तातै रहोस् भनी भान्छामै व्यस्त हुन्छिन् । पुरुषहरु दतविन गर्दै छिमेकीसँग गफ गर्दै हुन्छन् । बच्चाहरु मेरो लागि यो बनाइदिनुस् भनी ढिपी गर्दै बसेका हुन्छन् । कोही कोही त अजान हुन दश बाह्र मिनेट बाँकी रहदाँसम्म दतविन गरेर बसेका हुन्छन् भने कोही तबसम्म वजू गरिसकेका हुदैनन् की अजान हुन थाल्छ हतार हतारमा बिस्मिल्लाह समेत गर्न बिर्सिन्छन् । अहिले अधिकांशले इफ्तार टाइममा गरिने यिनै प्रमुख कार्य हुन् ।

इफ्तार टाइममा के गर्नुपर्छ ?
इफ्तार टाईममा हामी कम्तिमा १० मिनेट अघि बसेर दुआ गर्नुपर्छ । दिनभरी रोजा बसेर इफ्तारको बेला दुआ त्यस्तै हो जसरी एउटा मजदूरको ज्याला । यदि कुनै मानिस दिनभरी रोजा बसेर इफ्तारको समयमा दुआ गर्दैन भने ऊ त्यो मजदूर सरह हो जसले दिनभरी मेहनत गरेर ज्याला लिएन ।
इफ्तारको बारेमा हदीस शरीफमा भनिएछ कि यो मकबूलियतको घडी हो । यतिबेला रोजेदार कति पापी किन न होस् उसले गरेको दुआ रद्द हुँदैन । मानिसहरुले आफ्ना साथीभाई नातागोता आफन्तलाई महंगा महंगा उपहार दिएर आफ्नो माया ऊप्रति दर्शाउँछन् । जसले गर्दा उसको उपहार पाउने व्यक्तिले भनोस् कि आहा फलानो कति राम्रो मेरो लागि यति महंगो उपहार ल्याइदिएछ । त्यो उपहार जति नै महंगो किन न होस् इफ्तारको दुआ त्यो भन्दा धेरै महत्वपूर्ण र मूल्यवान हुन्छ ।

यस कारण भनिएको छ कि यदि तपाईं कसैलाई माया गर्नुहुन्छ उसको भलो चाहनु हुन्छ भने त्यसका लागि इफ्तार टाइममा दुआ गर्नुहोस् । उसको नाम किटान गरेर चाहे त्यो दुआ आफ्नो छोराछोरीका लागि होस्, आमाबुवाको लागि होस्, आफन्त नातादारका लागि होस् साथीभाईका लागि होस्, आफ्नो टोल शहर र देशका लागि होस् वा पुरै संसारको भलाइ र कल्याणका लागि होस् । किन भने यति बेला गरिएका सबै दुआ कबूल गरिन्छ ।

यसकारण हामी प्रयास गरौं कि कम्तीमा इफ्तार भन्दा १०–१५ मिनेट पहिला नै महिलाहरुले सबै काम भ्याइ हाल्ने पुरुषहरु सबै काम, शोशल मीडिया मोबाइल, दतविन आदि छाडेर बच्चाहरुलाई सँगै बसालेर आफ्नो घर परिवार, आफ्नो टोल छिमेकी, आफ्नो शहर र देशबासीका साथै संसारकै भलो र कल्याण होस् भनी सबैजना बसेर दुआ गर्नुहोस् । दुआमा हामी जो बिरामी छन् उनलाई निको हुने दुआ, जो पढ्दै छन् उनीका लागि पास हुने दूआ, जो ऋणमा डुबेछन् तिनीको ऋण चुक्ता हुने दुआ, जो निसन्तान छन् तिनलाई सन्तान प्राप्तीको लागि दुआ, जो बेरोजगार छन् तिनलाई रोजगारीको लागि दुआ, जो समस्यामा छन् तिनको निदानको लागि दुआ र अहिले फिलीस्तीन लगायत संसारका अन्य देशमा अनाहक ज्यान गुमाएकाछन् तिनीहरु आत्माको शान्तिका लागि दुआका साथै आफ्नो देशबासी र संसारका सबै मानिसहरु सुरक्षित रहुन र स्वास्थ्य रहुन भनी दुआ गर्नु हरेक रोजदारको कर्म र पहिलो कर्तव्य हो । अनि यही दुआ गर्ने कार्य इफ्तार टाइमा गरिने उत्कृष्ट र उत्तम कार्य हो ।