काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासनको कारबाही गरेका तीन नेताले आफूहरुविरुद्ध अन्याय भएको बताएका छन् । सहायक महामन्त्री प्रेम बलायर, काठमाडौँ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष ऋद्धिप्रताप राणा र युवक संगठनका सदस्यसचिव निराजन बमले सोमबार एक सार्वजनिक अपिल जारी गर्दै आफूहरूलाई पार्टीले निलम्बन गरेको घटनाबाट आश्चर्यचकित भएको बताएका छन् ।
पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको भन्दै अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई निलम्बनको निर्णय गरेका थिए ।
उनीहरुको अपिलमा २६ गते घटेको घटना प्रति आफूहरुपनि चिन्तित रहेका उल्लेख गर्दै भनिएको छ, ‘२७ गतेका दिन बैठक खानाको निमित्त रोकिएको समयमा एक नेतामाथि कसले धकेलाधकेल गर्यो र हातपात गर्याे सो विषय हामीलाई जानकारी छैन । हामी बैठक चलिरहँदा सदाझैँ पार्टी अफिस पुगेका हौँ र त्यहाँ अनियन्त्रित भिडले हाम्रो नेतामाथि धकेला धकेल गरिरहँदा मौन बस्न वा हेरिरहन हाम्रो नैतिकताले दिएन । तसर्थ हामी भिडलाई पन्छाउन गएका हौँ ।’
तर घटनामा आफूहरूको कुनै संलग्नता नरहेको उनीहरूको दाबी छ । पार्टीबाट भएको कारबाहीको निर्णय अस्वीकार गर्दै उनीहरूले भनेका छन्, ‘कार्यकर्ता माथि विवेकहीनताका साथ जुन निर्णय गरिएको छ । त्यसले हामीलाई मात्र हैन, तमाम देशभरिका कार्यकर्तामा समेत नकारात्मक सन्देश जाने र पार्टी क्षयीकरण तर्फ उन्मुख हुने कुरामा कुनै शङ्का छैन । यो अन्यायपूर्ण निर्णयको विरुद्ध हामी प्राण रहेसम्म सङ्घर्ष गर्नेछौँ ।’